चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न भक्तपुर अदालतको आदेश


भक्तपुर —  गुण्डा नाइकेका रूपमा परिचित मिलन गुरुङ उर्फ चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले शुक्रबार उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश जारी गरेको हो।

भक्तपुर प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार आवश्यक प्रक्रिया र स्वास्थ्य परीक्षणपछि उनलाई रिहा गरिनेछ।

यसअघि, चक्रे मिलन बुधबार काठमाडौंमा अभद्र व्यवहारसम्बन्धी मुद्दामा ३० हजार धरौटी तिरेर छुटेका थिए। तर सोधपुछका लागि भक्तपुर जिल्ला प्रहरीको जिम्मा लगाइएपछि उनलाई सीधै भक्तपुर पुर्‍याइएको हो।

गत वर्ष २०८१ भदौ ४ गते भक्तपुरका बासिन्दा मनिष रायमाझीमाथि भएको सांघातिक आक्रमणमा चक्रे मिलनको संलग्नता रहेको आरोप लाग्दै आएको छ। रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै  होच्याएपछि चक्रे आफैंले फोन गरेर धम्क्याएको र त्यसको केहीबेरमै उनका सहयोगी अजित खवाससहितको टोलीले खुकुरी प्रहार गरेको अभियोग छ।

सोही घटनापछि रायमाझीका काका दिनेशकुमार रायमाझीले दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। अदालतमा दर्ता भएको उक्त जाहेरीमा प्रतिवादीको पहिलो नाम चक्रे मिलनकै थियो।

१५ साउनमा महाराजगञ्जस्थित होटल साम्बालामा मध्यराति जन्मदिन पार्टी मनाउँदै गर्दा प्रहरीले चक्रेलगायत ४७ जनालाई समातेको थियो। त्यसमध्ये २८ जनालाई पछि छाडिएको थियो।

प्रतिक्रिया