
काठमाडौंमा दैनिक ३५ अपराध, आधाभन्दा बढी बैंकिङ कसुरका
काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै राजधानीमा परम्परागत अपराधको तुलनामा बैंकिङ कसुर, सहकारी ठगी, हुण्डी र साइबर अपराधजस्ता आर्थिक तथा प्रविधिमा आधारित अपराधहरू प्रमुख चुनौतीका रूपमा देखिएको जनाएको छ।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ०.३३ प्रतिशतले अपराध बढेको छ। “परम्परागत अपराध बढेको छैन, आर्थिक अपराध बढेको छ,” अधिकारीले बुधवार भद्रकालीस्थित परिसरमा आयोजित पत्रकार सम्मेलनमा भने।
वार्षिक विश्लेषण अनुसार काठमाडौंमा दैनिक औसत ३५ वटा अपराध दर्ता हुने गरेका छन्। गत वर्ष दर्ता भएका १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ (५० प्रतिशतभन्दा बढी) बैंकिङ कसुर रहेका छन्।
मुख्य १० अपराधमा बैंकिङ कसुर (६,५५३), अभद्र व्यवहार (१,९५३), चोरी (९५१), ठगी (७४५), लागूऔषध (४३१), आत्महत्या (३३२), जबर्जस्ती करणी (२४४), ज्यान मार्ने उद्योग (१४०), सवारी ज्यान (१००) र सवारी अंगभंग (७४) रहेका छन्। यी १० अपराधले कुल मुद्दाको ८९.२२ प्रतिशत हिस्सा ओगटेका छन्।
काठमाडौं प्रहरीसँग हाल ३,२३३ जना मात्र कार्यरत छन्, जबकि कुल दरबन्दी ४,०१६ रहेको छ। यसअनुसार ८१५ जनाको अभाव छ, जुन कुल दरबन्दीको करिब २० प्रतिशत हो। कार्यरत जनशक्तिमध्ये ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला छन्।
परिसर अन्तर्गतका १२९ प्रहरी कार्यालयमध्ये ६० वटा सरकारी जग्गामा अस्थायी संरचना बनाएर सञ्चालनमा छन्, ८ वटा भाडाको भवनमा र २० वटा जग्गाविहीन आफ्नै भवनमा छन्।
एसएसपी अधिकारीले अपराध नियन्त्रणका लागि मोटरसाइकल वर्कशप सञ्चालक, मिस्त्री, मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेर सूचनाको सञ्जाल बनाएको बताए। वर्कशपमा काम गर्नेहरूको ह्वाट्सएप समूहमार्फत अपराधमा प्रयोग भएका सवारी साधनबारे तत्काल जानकारी पाउने संयन्त्र विकास गरिएको उनले जनाए।
गत वर्ष काठमाडौं प्रहरीले राजावादी र शिक्षक आन्दोलनसहित विभिन्न ठूला राजनीतिक तथा सामाजिक गतिविधिहरूमा संयमतापूर्वक सुरक्षा व्यवस्था मिलाएको दाबी गरेको छ। साथै, १७ वर्षपछि त्रिचन्द्रसहित १८ क्याम्पसमा स्ववियु निर्वाचन र ६१ निर्वाचन तथा महाधिवेशनमा सुरक्षा दिएको थियो।
लागूऔषधका ४३१ मुद्दामा ७२५ जना पक्राउ परेका छन्। पहिलो पटकको विश्लेषणमा, लागूऔषध सेवन गर्नेमा १५–१९ वर्षका युवाहरू (४८.९%) सबैभन्दा बढी पाइएको छ।
प्रहरीको विश्लेषणमा, हाल बढ्दो अपराध प्रवृत्तिमा बैंकिङ कसुर, लघुवित्त तथा सहकारी ठगी, मिटरब्याज, हुण्डी, वैदेशिक रोजगारी ठगी, सुन तस्करी र साइबर अपराध (अनलाइन ठगी, अनलाइन जुवा, हनी ट्रयाप) प्रमुख छन्।
अदालतबाट दोषी ठहर भई फरार रहेका ५,५१२ जनालाई पक्राउ गरी २४ करोड २० लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको छ। साथै, २९८ वर्षभन्दा बढीको कैद सजाय कार्यान्वयन गराइएको छ।
एसएसपी अधिकारीका अनुसार आर्थिक र साइबर अपराधको बढ्दो चुनौतीलाई सामना गर्न प्रविधि र समुदायसँगको साझेदारीलाई मुख्य रणनीतिका रूपमा अघि बढाइएको छ।



कागजपत्र |
