
टीकापुरमा बस ठक्करपछि मिस्त्रीको मृत्यु, ३० लाख क्षतिपूर्तिको माग
कैलाली- कैलालीको टीकापुरमा मंगलबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले आज बिहानैदेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले चालकको लापरबाहीका कारण ज्यान गएको भन्दै ३० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
मंगलबार इलाका प्रहरी कार्यालय टीकापुर नजिकै सुप प्र ०१–००१–ख ३५८३ नम्बरको बसले साइकलमा जाँदै गरेका टीकापुर नगरपालिका–६, मिलनपुर शिविरका ४५ वर्षीय मिस्त्री अतवारी चौधरीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमै मृत्यु भएको हो।
मृतकका आफन्त र स्थानीय बासिन्दाले बिहानैदेखि टीकापुरको मुख्य बजार, जमरा पुल र इलाका प्रहरी कार्यालय अगाडि सडक अवरुद्ध गरेका छन्। बजारका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गर्दा जनजीवन प्रभावित भएको छ। लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा रोक लागेको छ भने बजार गतिविधि पनि ठप्प भएको छ।
मिलनपुरका बडघर धनिराम चौधरीका अनुसार मृतकका बालबच्चाको भविष्य सुरक्षित गर्न ३० लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो। तर, बस व्यवसायी पक्षले बीमाबाट प्राप्त हुने ७ लाख रुपैयाँ मात्र दिन सक्ने बताएपछि आन्दोलन सुरु भएको उनले बताए।
सोही दुर्घटनामा टीकापुर–६ का २५ वर्षीय राजु चौधरी पनि घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, डीएसपी नवीनराजा बुढाथोकीका अनुसार दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया सुरु भइसकेको छ। “क्षतिपूर्तिको विषय मृतकका आफन्त र बस व्यवसायीबीचको सहमति अनुसार तय हुनेछ,” उनले भने।



कागजपत्र |
