अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिँदै रविपत्नी भन्छिन् – न्यायका सबै ढोका ढकढक्याउँछु


काठमाडौं-  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयमाथि प्रत्यक्ष हस्तक्षेप भइरहेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा त्यसको कार्यान्वयन रोकिने गरेको दाबी गरिन्। उनका अनुसार, मुद्दाको पेसी चढ्ने बित्तिकै न्यायिक परिषद्मा उजुरी पुग्ने, ती उजुरीको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा तयार हुने र मिडियामा फैलाउने आदेश समेत त्यहीँबाट जाने घटना दोहोरिँदै आएको छ।

“न्यायाधीशहरूलाई प्रधानमन्त्री, कानुनमन्त्री वा गृहमन्त्रीबाट सिधै फोन जाने कुरा पहिले विश्वास लाग्दैनथ्यो, तर अहिले आफैं देखेपछि विश्वास गर्न बाध्य भएँ,” उनले लेखेकी छन्।

पौडेलले सरकारी पक्ष पटक–पटक नाजवाफ हुने भए पनि फैसला आफ्नै विपक्षमा आउने गरेको आरोप लगाइन्। उनले बहस सकेर पनि आदेश आउन रातभर ढिलाइ हुने, ‘पेनड्राइभ’ डुल्ने र अस्वाभाविक गतिविधि देखिने बताएँ।

श्रीमानलाई भेट्न कारागार जाँदा समेत ‘संगठनका मान्छे’ले पछ्याउने गरेको गुनासो गर्दै उनले प्रश्न गरिन्, “को बस्न चाहन्छ यस्तो निगरानीयुक्त अन्यायी समाजमा ?”

उनले रवि लामिछानेमाथिका सबै मुद्दा गृहमन्त्री रमेश लेखकको कार्यकालपछि मात्रै दर्ता भएको उल्लेख गर्दै, कुनै पनि मुद्दा हदम्यादमा नभएको दाबी गरिन्। सर्वोच्च अदालतले उस्तै प्रकृतिका मुद्दामा धरौटीमा छोड्ने नजिर कायम गरिसक्दा पनि लामिछाने थुनामै रहेको उनले औंल्याइन्।

“न्यायका सबै ढोका ढकढक्याउँछु,” पौडेलले भनिन्, “जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत बुटवल मात्र होइन, आवश्यक परे अन्तर्राष्ट्रिय अदालत पनि जान्छु।”

प्रधान न्यायाधीशलाई प्रत्यक्ष सम्बोधन गर्दै उनले कार्यकालमै न्याय दिने आदेश गर्न आग्रह गरिन्। “कार्यकाल सकिएपछि छापिने किताबले होइन, कार्यकालमै लेखिने आदेशले न्याय दिन्छ,” उनले लेखिन्।

प्रतिक्रिया