
भिजिट भिसा प्रकरण: रास्वपा-राप्रपाले गरे आज पनि संसद् बहिष्कार
काठमाडौं- भिजिट भिसा वितरणमा देखिएको अनियमितताको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
गत जेठ १३ गतेदेखि निरन्तर विरोधमा रहेका यी दुई दलका सांसदहरू आजको बैठकमा आफ्ना धारणा राखेपछि बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्। बैठकमा रास्वपाका प्रवक्ता तथा सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले बोल्दै भिजिट भिसा वितरणमा देखिएको समस्या समाधानप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए।
सांसद झाले ‘कुलिङ पिरियड’ का नाममा भिजिट भिसा वितरणमा भएको अनियमितताको जिम्मेवारी राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लिनुपर्ने बताए। उनले सभापतिको पद नैतिक संकटमा परेको भन्दै त्यसलाई असंवैधानिक करार दिए।
यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले आन्दोलनरत सांसदको आवाज नसुनी संसद् चलाइरहनु सरकारको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिन्। ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति?’ उनले प्रश्न उठाइन्।
रास्वपा र राप्रपाले छानबिन समिति गठन नभएसम्म संसद्को नियमित कार्यसूचीमा सहभागी नहुने अडान दोहोर्याउँदै आएका छन्।



कागजपत्र |
