भूपरिवेष्ठित राष्ट्रका लागि भौगोलिक अवरोध मुख्य चुनौती: प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समुन्नतिका लागि भौगोलिक अवरोध प्रमुख संरचनात्मक चुनौती बनेको बताएका छन्।

तुर्कमेनिस्तानको आवाजामा जारी संयुक्त राष्ट्रसंघीय तेस्रो भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनअन्तर्गत दक्षिण–दक्षिण सहकार्यसम्बन्धी सत्रमा विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी संकटका चुनौतीहरूलाई भौगोलिक अवरोधले अझ तीव्र बनाएको धारणा राखे।

उनले भूराजनीतिक तनाव, खाद्य र ऊर्जा असुरक्षा, बढ्दो मुद्रास्फीति र खुम्चिँदो वित्तीय स्थानजस्ता समस्याले भूपरिवेष्ठित देशहरूलाई थप दबाबमा पारेको बताए। यस्ता राष्ट्रहरू आन्तरिक स्रोत परिचालन, वैदेशिक लगानीको आकर्षण र विकास सहायता प्राप्तिका लागि प्रयासरत रहेको पनि उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पनि यी राष्ट्रहरूलाई प्रतिकूल असर पुर्‍याएको भन्दै रूपान्तरणमा आधारित एक व्यावहारिक र अग्रगामी ‘रोडम्याप’ तय गर्नुपर्नेमा जोड दिए।

उनले दक्षिण–दक्षिण सहकार्यअन्तर्गतको साझेदारीले ज्ञान आदानप्रदानसँगै मापनयोग्य र दिगो परिणाम सुनिश्चित गर्न स्रोत परिचालनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

लचिलो भौतिक र डिजिटल पूर्वाधार निर्माणमा लगानी गरी क्षेत्रीय एकीकरणलाई प्रवद्र्धन गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहकार्यलाई बल पुर्‍याउनुपर्ने उनले बताए।

साथै, व्यापार तथा ट्रान्जिट कोरिडोर विकास, पूर्वाधारको आधुनिकीकरण र सीमापार व्यापार तथा लगानी प्रवाहलाई सहज बनाउन भन्सार प्रक्रियामा सहजीकरण गर्न सामूहिक रूपमा काम गर्नुपर्ने सुझाव पनि उनले दिए।

प्रधानमन्त्री ओलीले डिजिटल रूपान्तरणलाई अपनाउन र त्यसमा तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउँदै सम्बोधन टुंग्याएका थिए।

प्रतिक्रिया