कोशीमा २२ वटा ट्रान्सफरमर चोरी गर्ने गिरोह पक्राउ


काठमाडाैं- कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रूपमा विद्युत् ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले ०८१ साल माघ १५ गतेदेखि हालसम्म झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट कुल २२ वटा ट्रान्सफरमर चोरी गरेको तथ्य फेला परेको जानकारी दिएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले चोरीका घटना बढेपछि प्रादेशिक अपराध अनुसन्धान समूह र सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी परिचालन गरेर अनुसन्धान अघि बढाइएको र सोही क्रममा चोरीमा संलग्नलाई पक्राउ गर्न सफलता मिलेको बताए।

उनका अनुसार ट्रान्सफरमरमा हुने तामा र तेलका कारण गिरोहले चोरी गरेको पाइएको छ। चोरीमा संलग्न ७ जना र चोरीको सामान किन्ने ५ जना गरी कुल १२ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुन कुमार माझी, इरज माझी, बेलबारीका अर्जुन चौधरी र रञ्जित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयाग कुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी रहेका छन्।

यस्तै चोरीको तामा खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट र इटहरीका सिताराम राईलाई पनि पक्राउ गरिएको छ।

उनीहरूको डेरा तथा घरबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरीमा प्रयोग गरिएका विभिन्न औजार, मोटरसाइकल र पिकअप गाडी समेत बरामद गरेको छ।

प्रतिक्रिया