६ ठूला नदीमा भोलिसम्म बाढीको जोखिम


काठमाडाैं- देशका ६ वटा प्रमुख नदीमा भोलिसम्म बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ। बाग्मती, पूर्वी राप्ती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेती नदीको जलसतह अझै बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

विभागले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बबई नदीमा आज दिउँसोसम्म जलसतहले खतराको तह पार गरे पनि दिउँसो ३ बजेदेखि घट्न थालेको छ।

बबई नदीमा ५.५ मिटरलाई चेतावनी तह र ६.८ मिटरलाई खतरा तह मानिन्छ। तर आज जलसतह ७.१ मिटरसम्म पुगेको थियो।

दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरसहितका जिल्लामा बहने नदीहरूमा पनि बहाव बढ्ने देखिएकाले आकस्मिक बाढीको जोखिम उच्च रहेको विभागले जनाएको छ।

बाढीविद् विनोद पराजुलीका अनुसार जोखिम क्षेत्रका नागरिक, स्थानीय तह र प्रशासनलाई पूर्वसूचना प्रवाह भइरहेको छ। सुरक्षित रहन र सतर्कता अपनाउन सन्देश पठाइएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया