बाग्मतीका मुख्यमन्त्रीले गरे राजीनामाको घोषणा


हेटौंडा- बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत लामाले राजीनामा दिन लागेको सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

लामाले संविधानतः राजीनामा दिनुपर्ने कुनै बाध्यता नरहेको स्पष्ट पार्दै पार्टी सभापति शेरबहादुर देउवाको आग्रहअनुसार मार्गप्रशस्त गर्न लागिएको बताए। “मैले संविधानअनुसार राजीनामा दिनुपर्ने कुनै कारण थिएन। म पाँच वर्षका लागि संसदीय दलको नेता निर्वाचित भएको थिएँ। दुई वर्षका लागि बनेको मुख्यमन्त्रीबाट अहिले नै राजीनामा दिनुपर्ने अवस्था किन आयो भन्ने विषयको समीक्षा इतिहासले गर्नेछ,” उनले भने।

पार्टीलाई भाँडभैलोमा जान नदिन र विधि प्रक्रियालाई सहज बनाउन राजीनामा दिने निर्णय गरेको बताउँदै उनले थपे, “पार्टी सभापति देउवाको आग्रह र पार्टीलाई विधिमा चल्न रोकावट नआओस् भनेर यस्तो निर्णय गरेको हुँ।”

मुख्यमन्त्री लामाले आजै प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाउने जानकारी पनि दिए।

प्रतिक्रिया