
तनहुँमा इभी माइक्रो दुर्घटना: ९ जना घाइते, चालक नियन्त्रणमा
तनहुँ — पोखराबाट नारायणगढतर्फ जाँदै गरेको इभी माइक्रोबस आइतबार दिउँसो तनहुँमा दुर्घटनामा पर्दा ९ जना यात्रु घाइते भएका छन्।
बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको सो इभी माइक्रो पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनमा दुर्घटनामा परेको हो। दिउँसो साढे २ बजेतिर चालकले गाडीको नियन्त्रण गुमाउँदा माइक्रो डिभाइडरमा ठोक्किएको र त्यसपछि सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
माइक्रोमा चालकसहित १२ जना सवार थिए। दुर्घटनामा घाइते भएका ९ जनालाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। तीमध्ये ७ जनाको अवस्था सामान्य छ भने २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।
माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका–४ का २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



कागजपत्र |
