
बर्दघाटमा यात्रुबाहक बस पल्टिँदा एकजनाको मृत्यु, १३ घाइते
बुटवल- बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासीको बर्दघाटमा यात्रुबाहक बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस बर्दघाट नगरपालिका–५ स्थित शान्तिनगर चोकमा शनिबार दुर्घटनामा परेको हो। दुर्घटनाका कारण बस सडक किनारमै पल्टिएको थियो।
दुर्घटनामा ज्यान गुमाउने यात्रु पुरुष भए पनि उनकी पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका डिएसपी वीरदत्त पन्तले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते भएका १३ जनामध्ये १२ जनालाई उद्धार गरी थप उपचारका लागि रुपन्देही पठाइएको छ भने एक जनाको चिसापानीस्थित अस्पतालमा उपचार भइरहेको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
