काठमाडौंमा कोकिनसहित ४ विदेशी नागरिक पक्राउ


काठमाडौं – प्रहरीले १.६ किलोग्रामभन्दा बढी कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सूचनामा विदेशबाट आएका नागरिकहरू नेपाल प्रवेश गरी कोकिन कारोबारमा संलग्न रहेको जनाइएको थियो।

पक्राउ पर्नेमा ३५ वर्षीया भारतीय नागरिक रूबिना अब्दुल्लाह शेख पनि रहेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेकी शेख शंकास्पद गतिविधिमा देखिएपछि प्रहरीले निगरानी बढाएको थियो। उनले बोकेको ब्याग जाँच गर्दा १.५७४ किलोग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।

कोकिन लिन एयरपोर्टमै पुगेका अर्का भारतीय नागरिक ३३ वर्षीय अरुणप्रताप पनि त्यही क्रममा पक्राउ परेका छन्।

यसअघि लागुऔषध नियन्त्रण ब्युरोको अर्को टोलीले काठमाडौंको इचंगुनारायण, नागार्जुन क्षेत्रबाट दुई जना विदेशी नागरिकलाई कोकिनसहित नियन्त्रणमा लिएको थियो।

तीमध्ये ३७ वर्षीय इरितरियन नागरिक युसुफ एटमलाई ३२ ग्राम कोकिनसहित पक्राउ गरिएको हो भने अनुसन्धानकै सिलसिलामा ४४ वर्षीय रूसी नागरिक एन्ड्रिय मलेसेभ पनि पक्राउ परेका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया