
टिकापुर नगर कार्यालयमा तोडफोड
कैलाली – नगर प्रमुख रामलाल डगौरको अभिव्यक्तिविरुद्ध आक्रोशित भूमिहीन सुकुम्बासीहरूले बिहीबार टिकापुर नगरपालिका कार्यालयमा घेराउ गर्दै तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले नगर भवनमा ढुंगामुढा गर्नुका साथै परिसरमा रहेका गमला पनि फुटाएका थिए।
तोडफोडको क्रममा नगरपालिकामा कार्यरत नगर प्रहरी रीमा साउद घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको नगरपालिका स्रोतले जनाएको छ।
टिकापुर बहुमुखी क्याम्पस वरपर बसोबास गर्ने भूमिहीन सुकुम्बासी समुदाय नगर प्रमुखको पछिल्लो अभिव्यक्तिले आफूहरूलाई अपमानित बनाएको भन्दै तीन दिनदेखि आन्दोलनरत थिए। बिहीबारको प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि केही समयपछि आक्रोशित भीडले नियन्त्रण गुमाउँदै हिंसात्मक रूप लिएको थियो।
नगरपालिकाले सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुन विपरीतका गतिविधिमा संलग्नहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। साथै विवाद समाधानका लागि वार्ता प्रक्रियाको प्रस्ताव पनि राखिएको जनाएको छ।
आन्दोलनकारीहरू भने आफूहरूलाई उचित आवास र जमिनको व्यवस्था नगरी अपमानजनक व्यवहार गरिएको भन्दै आन्दोलन थप तीव्र बनाउने चेतावनी दिइरहेका छन्। स्थिति थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा बनाएको छ।
आन्दोलनमा भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित र बाढीपीडितहरू सहभागी थिए।



कागजपत्र |
