बालुवाटार बैठकमा के भयाे कुराकानी ?


काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित दुई प्रमुख दलका शीर्ष नेताहरूबीच बालुवाटारमा बसेको बैठक सकिएको छ। प्रधानमन्त्री निवासमा बसेको एक घण्टा लामो बैठकमा समसामयिक विधेयक, संक्रमणकालीन न्याय, कानून संशोधन, भूमि विधेयक लगायतका विषयमा छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का तथा महान्यायाधिवक्ता रमेश बडाललगायतका नेताहरू सहभागी थिए।

बालुवाटार स्रोतका अनुसार मन्त्रीहरूबीचको कार्यसम्पादन मूल्यांकन र सम्भावित मन्त्री हेरफेरबारे बाहिर चर्चा भए पनि बैठकमा यसबारे कुनै छलफल नभएको स्पष्ट गरिएको छ। स्रोतले भन्यो, “आजको बैठक संक्रमणकालीन न्याय र संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउने विषयमा केन्द्रित रह्यो, मन्त्री हेरफेरबारे कुनै कुरा भएन।”

यसबाहेक, बैठकमा बागमती प्रदेशमा कांग्रेसभित्र देखिएको किचलो र सत्ता समीकरणबारे समेत गम्भीर छलफल भएको बताइएको छ। कांग्रेस नेताहरूले बागमती प्रदेशको विषय आफैँ टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा सहभागी रहेका महान्यायाधिवक्ता रमेश बडालसँग प्रमुख दलका नेताहरूले संक्रमणकालीन न्यायसम्बन्धी कानूनी सुधार, संशोधन र विधेयकका संवैधानिक पक्षमा राय–सुझाव लिएका थिए।

सरकारका मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन र सम्भावित फेरबदलबारे भने दुई दलका नेताहरूबीच अर्को चरणमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया