
‘मधेशलाई नेपालबाट अलग गर्नुपर्छ’ भन्ने नेतालाई खानेपानी मन्त्रालयको गाडी !
काठमाडौं – खानेपानी मन्त्रालयको सरकारी सवारीसाधन दुरुपयोगमा परेको खुलेको छ। आपराधिक मुद्दाका प्रतिवादी तथा जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक यादव मन्त्रालयको गाडी प्रयोग गरिरहेको पाइएको हो।
सर्लाही जिल्ला प्रहरी कार्यालयले अशोक यादवविरुद्ध आपराधिक उपद्रव सम्बन्धी मुद्दामा अदालतको अनुमति लिई पक्राउ पुर्जी जारी गरिसकेको छ। मधेश प्रदेशको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विजयकुमार यादवले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार अशोक यादवविरुद्ध पुराना ८ वटा र हालै थपिएका २ वटा गरी जम्मा १० वटा मुद्दा दर्ता छन्। पछिल्लो समय उनले मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभिव्यक्तिसमेत दिएपछि उनी झन विवादमा तानिएका छन्।
त्यसैबीच, उनी खानेपानी मन्त्रालयको नाममा रहेको बा २ झ २५४५ नम्बरको गाडी प्रयोग गरिरहेका छन्। स्रोतका अनुसार गाडी हाल यादवको मलंगवास्थित घरमै छ। खानेपानी मन्त्री प्रदीप यादव पनि जसपाकै नेता हुन्। उनी मन्त्री बनेपछि अशोक यादवले गाडी प्रयोग गर्न थालेको बताइएको छ।
खानेपानी मन्त्रालयले पनि उक्त गाडी मन्त्रालयकै नाममा दर्ता रहेको स्वीकार गरेको छ। मन्त्रालयको स्टोर शाखाका कर्मचारी कमल ढुंगेलका अनुसार गाडी मन्त्रीको सचिवालयमार्फत प्रयोगका लागि एक–डेढ महिनाअघि पठाइएको थियो। “गाडी कहाँ, कसले प्रयोग गरिरहेको छ भन्ने विस्तृत जानकारी भने छैन,” ढुंगेलले भने।



कागजपत्र |
