
ब्लु डायमण्ड सोसाइटीको कार्यालय घेराउ
काठमाडौं – काठमाडौंको धुम्बाराहीस्थित ब्लु डायमण्ड सोसाइटी (नील हिरा समाज) को कार्यालयमा आन्तरिक विवाद चर्किएको छ। समलिंगी, तेस्रो लिंगी र अन्तरलिंगी समुदायको नाममा भ्रष्टाचार भएको आरोपसहित संस्थाका आफ्नै सदस्यहरूले कार्यालय घेरेर विरोध जनाएका छन्।
प्रदर्शनकारी सदस्यहरूले संस्थाले सक्कली सदस्यहरूको नाममा नक्कलीलाई अगाडि सारेको, विकृति फैलाएको र संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्।
कार्यालयअगाडि नाराबाजी गर्दै उनीहरूले नेतृत्वमाथि जग्गा हिनामिनासमेतको गम्भीर आरोप लगाएका छन्। लाजिम्पाट र धुम्बाराहीमा रहेको समाजको भवन सदस्यहरूकै नाममा खोल्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, टौदहस्थित सोसाइटीको जग्गा पनि समुदायका वास्तविक सदस्यहरूको प्रयोगमा ल्याइनुपर्ने उनीहरूको जोडदार माग छ।
साथै, सोसाइटीले सञ्चारमाध्यमहरूलाई पनि गलत तथा भ्रामक सूचना दिँदै आएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
स्थिति तनावपूर्ण बनेपछि कार्यालय परिसरमा सुरक्षाकर्मीहरूको उपस्थिति पनि बढाइएको छ। अहिले पनि सोसाइटी र असन्तुष्ट पक्षबीच छलफलको प्रयास भइरहेको जनाइएको छ।



कागजपत्र |
