गोसाइँकुण्डमा बेपत्ता युवक अझै फेला परेनन्, खोजीमा सेना र प्रहरी


रसुवा- रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा आइतबार बेपत्ता भएका दुई युवक अझैसम्म फेला परेका छैनन्। हराएका युवाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

रसुवाका प्रहरी प्रमुख डिएसपी हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र बेलवारीका मनोज न्यौपाने रहेका छन्। गहिरो भागबाट स्नान गर्न तालमा पसेपछि उनीहरू डुबेका हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि खोजी कार्यमा नेपाली सेनाको श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा सुरक्षाकर्मी आइतबार नै घटनास्थल पुगेका थिए।

चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड करिब चौथाइ माइल चौडाइको नीलो पानीको प्रसिद्ध धार्मिक सरोवर हो। यो ताल करिब १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ।

प्रतिक्रिया