
१९ जिल्लाका नदी किनारमा बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह
काठमाडौं- देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा मौसम पूर्ण वा आंशिक रूपमा बदली भएको छ भने बागमती र गण्डकी प्रदेशमा वर्षा तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकोले वर्षाको क्रम अझै केही दिन जारी रहने अनुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा तीव्र वर्षा भइरहेको छ। साथै, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र मधेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। सक्रिय मनसुनका कारण साना नदी-नालामा आकस्मिक बाढीको जोखिमसमेत बढेको जनाइएको छ।
महाशाखाले आज बिहान जारी गरेको सूचनामा विशेष गरी दोलखा र सिन्धुपाल्चोक जिल्लाबाट बग्ने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आज दिनभर विशेष सतर्क रहन आग्रह गरिएको छ।
त्यस्तै, अन्य १९ जिल्लामा पनि साना नदीहरूमा बाढीको “मध्यम सम्भावना” रहेको पूर्वानुमान गरिएको छ। ती जिल्लाहरूमा इलाम, झापा, सोलुखुम्बु, सङ्खुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर), काभ्रेपलान्चोक, चितवन, सिन्धुली, नवलपरासी (पूर्व र पश्चिम), लमजुङ, रुकुम (पूर्व र पश्चिम), सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली रहेका छन्।
यद्यपि कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, राप्ती र बबईजस्ता मुख्य नदीहरूको जलस्तर अहिले सतर्कता तहभन्दा तलै रहेको जनाइएको छ। तर, सहायक नदीहरूबाट आकस्मिक बाढी आउन सक्ने भएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन तथा यात्रा गर्दा पहाडी क्षेत्रका सम्भावित पहिरो जोखिमबाट सचेत रहन अनुरोध गरिएको छ।





कागजपत्र |
