
गूगल म्यापको भर परेर कार चलाउँदा पानीको खाल्डाेमा परिन् महिला
काठमाडाैं- भारतकाे नाभी मुम्बईमा शुक्रबार बिहान एक महिला गूगल म्यापको निर्देशन पछ्याउँदै जाँदा पानीले भरिएको खाडलमा कारसँगै खसिन्। घटना बेलापुरबाट उल्वेतर्फ जाँदै गर्दा भएको हो।
बेलापुरको बे ब्रिज हुँदै जानुपर्ने मार्गको सट्टा गूगल म्यापले महिलालाई पुलको तलको बाटो हुँदै ध्रुवतारा जेटीतर्फ जाने दिशा देखाएको थियो। महिला त्यही निर्देशन पछ्याउँदै गइन् र अन्ततः कारसहित सो पानी भरिएको खाडलमा पुगिन्।
निकटै रहेका मरीन सुरक्षा गस्तीले घटनालाई तुरुन्तै देखेका थिए र केही मिनेटमै ती महिलालाई पानीबाट बाहिर निकाल्न सफल भए। महिला पानीमा तैरिरहेको अवस्थामा भेटिएकी थिइन् तर भाग्यवश कुनै चोटपटक लागेको थिएन। उनको सेतो कारलाई क्रेनको सहायताले पानीबाट निकालिएको थियो।
गूगल म्यापले गलत मार्ग देखाएर प्रयोगकर्तालाई समस्या पार्ने यो पहिलो घटना होइन। गत वर्ष उत्तर प्रदेशको बदायूँ जिल्लामा यस्तै घटनामा तीन जनाको ज्यान गएको थियो।



कागजपत्र |
