
खडेरीग्रस्त मधेशमा डिपबोरिङ जडान सुरु
जनकपुरधाम- मधेश प्रदेशमा लामो समयदेखि वर्षा नहुँदा उत्पन्न भएको खडेरी र पानीको अभावको समाधान गर्न प्रदेश सरकारले डिपबोरिङ जडान योजना सुरु गरेको छ। कृषि र दैनिक जीवनका लागि आवश्यक खानेपानी र सिँचाइको गम्भीर संकट देखिएपछि प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले हरेक वडामा आवश्यकतानुसार डिपबोरिङ जडान गर्ने योजना अघि बढाएको हो।
ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवका अनुसार, प्रदेश सरकारले प्राथमिकताका आधारमा डिपबोरिङको जडान गर्दै पानीको समस्या समाधान गर्ने उद्देश्यसहित योजना कार्यान्वयनमा ल्याएको छ। उनले बताएअनुसार सहरी तथा ग्रामीण दुवै क्षेत्रमा खानेपानीको समस्या तीव्र रूपमा बढेकाले सिँचाइभन्दा पहिले खानेपानीलाई प्राथमिकता दिइएको छ।
मन्त्री यादवले मधेश प्रदेशको सीमित स्रोतसाधनबीच पनि जनताको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गर्दै काम अगाडि बढाइएको जानकारी दिए। मन्त्रालयमा प्रदेशका विभिन्न वडा तथा टोलहरूबाट खानेपानीको अभावका कारण डिपबोरिङ जडानको माग आइरहेको जनाइएको छ।
प्रदेश सरकारले मधेशलाई आधिकारिक रूपमा ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत आगामी तीन महिनाका लागि यसलाई ‘संकटग्रस्त क्षेत्र’ घोषित गरिसकेको छ। हाल प्रदेश सरकारले अभावग्रस्त क्षेत्रहरूमा ट्याङ्कर र दमकलमार्फत निःशुल्क रूपमा पानी वितरण गरिरहेको छ।
डिपबोरिङ योजना अन्तर्गत पहिलो चरणमा धनुषाको मिथिलाविहारी नगरपालिका–२ स्थित परशुराम तलाउ क्षेत्रमा डिपबोरिङ जडान सुरु भइसकेको मन्त्री यादवले जानकारी दिए। यो कार्य भूमिगत सिँचाइ कार्यालय जलेश्वर, लहान, कर्मेया (सर्लाही), र वीरगञ्जमार्फत सञ्चालन भइरहेको छ। यी कार्यालयहरूले मधेशका आठ जिल्लामध्ये दुई/दुई जिल्लामा डिपबोरिङ जडान तथा निर्माण गरिरहेका छन्।
यसैबीच, संघीय सरकार अन्तर्गतको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहाले समेत अघिल्लो आर्थिक वर्षदेखि सिँचाइ र डिपबोरिङ जडानको काम थालिसकेको छ। कार्यालयका प्रमुख वीरेन्द्र यादवका अनुसार, धनुषा र सिरहा जिल्लामा जडान गरिएका डिपबोरिङबाट आंशिक रूपमा भए पनि खानेपानी तथा सिँचाइको समस्या समाधान हुन थालेको छ।



कागजपत्र |
