मधेसका सबै जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा


काठमाडौं – मधेस प्रदेशका सबै आठ जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृहमन्त्री रमेश लेखकको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

अनावृष्टि र चुरे दोहनका कारण भूमिगत पानीको स्रोत सुक्दै गएको, जमिनमा पानीको पुनर्भरण हुन नसकेको, तथा नदी–नालामा जलसतह घट्दा सिँचाइ र खानेपानी प्रणाली गम्भीर प्रभावित भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रस्ताव पेश गरिएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि मधेस प्रदेश सरकारले मंगलबार प्रदेशभर विपद्को अवस्था रहेको जनाउँदै संघीय सरकारसमक्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो। त्यसकै आधारमा मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) अनुसार संघीय सरकारलाई यस्तो निर्णय गर्न सिफारिस गर्ने व्यवस्था छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यस वर्ष प्रदेशको जम्मा ४६ प्रतिशत मात्र क्षेत्रफलमा रोपाइँ भएको छ। मनसुनमा आधारित कृषि प्रणाली रहेकाले सुक्खाका कारण उत्पादनमा गम्भीर ह्रास आउने देखिएको छ। खानेपानी, सिँचाइ र कृषि प्रणालीमा परेको असरले लाखौं नागरिक प्रभावित हुन सक्ने भएकाले तत्काल विशेष राहत र व्यवस्थापनको खाँचो औंल्याइएको छ।

प्रतिक्रिया