
सिन्धुलीको मधुगंगा महादेव मन्दिर परिसरमा गोली चल्यो
सिन्धुली- दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा सोमबार दिउँसो गोली चलेको छ। भारतीय नागरिकहरुको ४–५ जनाको समूहले आफ्नै साथीमाथि गोली प्रहार गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दिउँसो करिब १२ बजेतिर गोली चलाएको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गोली प्रहारबाट एक जना घाइते भएका छन्। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोली र इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थल पुगेको डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए।
घटनाको विस्तृत विवरण संकलनको काम जारी रहेको प्रहरीको भनाइ छ। वडा नं. २ का वडाध्यक्ष रितेश राउतले पनि प्रहरीसहितको टोली घटनास्थल पुगेको र थप विवरण संकलन भइरहेको जानकारी दिए।
उनका अनुसार घटनास्थलमा चक्कु र छुरा समेत फेला परेको छ। गोली लागेका व्यक्तिको पहिचान अझै खुलेको छैन भने उनीको मृत्यु भएको आशंका गरिएको छ।



कागजपत्र |
