
मानव तस्करी प्रकरणपछि अध्यागमनमा दरबन्दी हेरफेर, ४५ जना नयाँ अधिकृत खटाइयाे
काठमाडौं- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा देखिएको अव्यवस्था हटाउन र सेवा प्रभावकारी बनाउन ४५ जना नयाँ शाखा अधिकृत खटाएको छ।
लोकसेवा आयोगबाट हालै परीक्षा पास गरी तालिम लिएका अधिकृतहरूलाई तीन दिने आधारभूत प्रशिक्षणपछि सोमबारदेखि विमानस्थलमा जिम्मेवारी दिइएको हो। अध्यागमन सुधार अभियानको हिस्साका रूपमा खटाइएका यी अधिकृतहरूको खटाइ गृह मन्त्रालयको निर्देशनमा भएको हो।
यसअघि त्यही कार्यालयमा कार्यरत ४५ जना अधिकृतलाई मन्त्रालयले फिर्ता बोलाएको थियो। ती अधिकृतहरूको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सिफारिस भएर आएका नयाँ अधिकृतलाई खटाइएको गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले जानकारी दिए।
साथै सहसचिव नरहरि घिमिरे सोमबारदेखि विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारीमा पुगेका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका अनुभवी कर्मचारी हुन्।
गत जेठ ७ गते भिजिट भिसाका नाममा मानव तस्करीमा अध्यागमन कर्मचारीको संलग्नता देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो। सो छानबिनमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित केही कर्मचारी पक्राउ परेका थिए। उक्त प्रकरण अहिले पनि अख्तियारको अनुसन्धानमा छ।
यही पृष्ठभूमिमा सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा अध्यागमन तथा भिजिट भिसासम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ। समितिलाई विदेश यात्राको सहजीकरण र मानव तस्करी न्यूनीकरणका लागि संरचनागत, कानुनी र नीतिगत सुधारका सिफारिससहितको दीर्घकालीन कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ।



कागजपत्र |
