ललितपुरमा बुद्धचित्त चोरी गर्ने समूहको आक्रमण, घरधनीमाथि खुकुरी प्रहार


ललितपुर- बुद्धचित्त चोरी गर्न पुगेको समूहले ललितपुरमा एक घरधनीमाथि खुकुरी प्रहार गरेका छन्।

शनिबार राति सवा २ बजेतिर ललितपुरको गोदावरी नगरपालिका–७ गुरूङचुले गैरीडोलीमा रहेको बुद्धचित्तको रूखबाट दाना टिप्न आएको समूहले घरको सिसिटिभी तार काटेर चोरी सुरु गरेको थियो।

तर, कुकुरको भुकाइपछि घरधनी कृष्णबहादुर मार्फा बाहिर निस्किए। त्यतिबेला समूहले उनीमाथि खुकुरी प्रहार गरी घाइते बनाएर बुद्धचित्तको दाना लिएर फरार भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार घरधनीको दायाँ हातमा चोट लागेको छ र उनीलाई आनन्दवन अस्पतालमा उपचार गराइएको हो। उनको हातमा पाँच वटा टाँका लागेको छ र उनी अहिले डिस्चार्ज भइसकेका छन्।

घटनापछि आइतबार बिहान ५ बजे प्रहरी वृत्त चापागाउँको टोलीले तीन जना संलग्नलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन्। उनीहरूबाट ९९ वटा काँचो बुद्धचित्तको दाना बरामद गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू आपराधिक पृष्ठभूमि बोकेका छन्। प्रतिमान गोले यसअघि मोटरसाइकल चोरीमा संलग्न देखिएका थिए भने बुद्ध तामाङ सुनको चेन लुटपाटमा संलग्न रहेको तथ्य फेला परेको छ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रतिक्रिया