नक्कली सुन देखाएर ३२ लाख ठगी गर्ने गिरोह टोखाबाट पक्राउ


काठमाडौं – सुनजस्तो देखिने नक्कली धातु देखाएर ठगी गर्ने गिरोहका तीन जना सदस्यलाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फाकुम्बाका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्गका ३६ वर्षीय विजय तामाङ र ताप्लेजुङ मिरिङदुयानका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार उनीहरूले पहेंलो धातुको ढिक्का देखाएर “सस्तोमा सुन दिन्छौं” भन्दै व्यक्तिहरूलाई विश्वासमा पारेर ठगी गर्ने गरेका थिए ।

प्राप्त उजुरी अनुसार, उनीहरूले ललितपुर खोकनाका ४४ वर्षीय आशारत्न डंगोलबाट २५ लाख र भक्तपुर सूर्यविनायक–४ का ३० वर्षीय रामचन्द्र गहतराजबाट ७ लाख रुपैयाँ ठगी गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातुको एक थान ढिक्का, फलामको ह्याम्बर, चार पाटा ढिक्का र आधा भाग भाँचिएको चक्कु बरामद गरेको जनाएको छ ।

थप अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया