धनकुटाका दुई स्वास्थ्य केन्द्रमा भिडिओ कलमार्फत् स्वास्थ्य सेवा


काठमाडौं- धनकुटा नगरपालिका अन्तर्गतका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन तथा भिडियो कलमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्न थालिएको हो।

धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेका अनुसार, यो सेवाबाट विशेषज्ञ डाक्टरमार्फत परामर्श, प्राथमिक उपचार, रोग निदान र औषधिसम्बन्धी सल्लाह प्रदान गरिनेछ। बिरामीले भिडियो कलमार्फत आफ्नो समस्या डाक्टरसामु राख्न सक्नेछन् र डाक्टरले बुझेर औषधि वा आवश्यक परे थप उपचारका लागि सिफारिस गर्नेछन्।

हप्तामा एक दिन, प्रत्येक बुधबार मात्रै सञ्चालन हुने यो सेवा दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने बिरामीका लागि सहज हुनेछ। अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न यो सेवा सुरु गरिएको सहरी स्वास्थ्य क्लिनिक पात्लेले जनाएको छ।

प्रतिक्रिया