
बर्दियामा मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु
बर्दिया — बर्दियाको गुलरियामा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ। गुलरिया नगरपालिका–५ मा रहेको जिल्ला समन्वय समितिको कार्यालय नजिकै मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहले चलाएको युपी ४० बीबी १६२९ नम्बरको भारतीय मोटरसाइकल सुहेलवाबाट राधाकृष्ण चोकतर्फ जाँदै गर्दा दिउँसो करिब २:३० बजे अनियन्त्रित भई सडकछेउको पोलमा ठोक्किएको थियो। ठोक्किएपछि उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई तत्कालै उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो। जिल्ला प्रहरी कार्यालय, गुलरियाका डीएसपी चक्रबहादुर डमरपालका अनुसार उपचारका क्रममा दिउँसो ३:१० बजे चिकित्सकले सिंहलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८ कोठियास्थित पञ्जाब डिजेल वर्कसपमा ट्याक्टर मर्मत गर्ने मिस्त्रीका रूपमा कार्यरत थिए।



कागजपत्र |
