
सुनसरीमा एकै घरमा श्रीमान–श्रीमती मृत फेला
काठमाडौं- सुनसरी जिल्लाको इनरुवा नगरपालिका–९ बबिया क्षेत्रमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्। बबिया शिवमन्दिर नजिकै बसोबास गर्दै आएका ४२ वर्षीय सुदीप शर्मा खतवे र उनकी ३२ वर्षीया श्रीमती नविता खातुन आफ्नै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार सुदीप शर्मा आफ्नै घरको कोठामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती नविता सुत्ने कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
घटनाबारे आइतबार बिहान ९ बजे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडासहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थल सुरक्षित राख्दै आवश्यक कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ। दुबै शवलाई पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको प्रहरीले जानकारी दिएको छ।



कागजपत्र |
