म माथि मुद्दा लागेको आधारमा पार्टीले विदा गरे स्वीकार्छु : अध्यक्ष नेपाल


काठमाडौं-  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध मुद्दा लगाइएको विषयलाई लिएर पार्टीले विदा गरे स्वेच्छाले स्वीकार गर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी नेतृत्वबाट विदा हुने मनस्थितिमा रहेको संकेत दिएका हुन्। “यदि पार्टीले ममाथि लागेको मुद्दालाई आधार बनाएर मलाई विदा गर्छ भने म विदा भएर जान तयार छु,” उनले भने।

आफूमा पार्टी निर्माण गर्ने आँट रहेको र विभिन्न चुनौतीको सामना गर्दै अघि बढ्ने स्पष्ट पार्दै उनले पार्टीप्रति जिम्मेवार भएर निर्णय गर्ने चेतावनी पनि दिए।

अध्यक्ष नेपालले आफूले जीवनमा कहिल्यै घुस नलिएको दाबी गर्दै, “मसँग डर भन्ने कुरा छैन, म निडर छु,” भने।

उनका अनुसार आफूमाथि चलाइएको मुद्दा प्रतिशोधपरक छ र नेपालको संविधान अनुसार नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसको उल्लंघन गरिएको छ।

उनले थपे, “आज मलाई हेरिसकेपछि भोलि तपाईंहरूले खनेको खाल्डोमा तपाईंहरू आफैँ पर्न सक्नुहुन्छ।”

प्रतिक्रिया