राष्ट्रिय लिग भलिबलमा आज ६ खेल हुँदै, आर्मीको विजयी यात्राकाे सुरुवात


काठमाडौं – आरबीबी-एनभीए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा आज ६ वटा खेल हुनेछ । आज पुरुष र महिला दुबै स्पर्धामा तीन तीन वटा खेल हुने तालिका छ । पुरुषतर्फ आज हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार सामाजिक युवा क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र मणिमुकुन्द भलिबल क्लब तथा त्रिभुवन आर्मी क्लब र बुल्बुले रारा क्लब भिड्नेछन् ।

यसैगरी महिलातर्फ एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र भरतपुर मेट्रो खेलकुद परिषद् तथा न्यु डायमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुँदैछ । हिजो सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोली सहभागी छन् । प्रतियोगिताको पहिलो दिन हिजो पुरुषतर्फ तिन विभागिय टोली आर्मी, पुलिस र एपिएफ विजयी हुँदा महिलातर्फको एक मात्र खेलमा न्यु डायमण्ड विजयी भएको थियो ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहीबार भएको पुरुषतर्फ खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्‍यो । आर्मीले मणिमुकुन्दलाई २५-१७,२५-१४, २५-२१ ले पराजित गरेको हो । नेपाल भलिबल संघ एनभीएको आयोजनामा बिहीबार देखि सुरु भएको च्याम्पियनसिपको पहिलो दिनमै पुरुषतर्फ अर्को दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफले पनि जित हात पारेका छन् ।

लिग च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फको विजेताले ३ लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउनेछ ।

पहिलो दिनको खेलको नतिजा

महिलातर्फ- न्युडायमण्ड विरुद्ध ढोरपाटन : २५-६, २५-२, २५-५

पुरुषतर्फ- पुलिस विरुद्ध नयाँबजार : २५-९, २५-२१, २५-१६

एपिएफ विरुद्ध बुलबुले रारा : २५-२०, २८-२६, १८-२५, ३२-३०

आर्मी विरुद्ध मणिमुकुन्द : २५-१७, २५-१४, २५-२१

प्रतिक्रिया