रोमानिया र सर्बिया पठाउने प्रलोभनमा ठगी, दुई पक्राउ


काठमाडौं — वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ का ३२ वर्षीय रोहन उर्फ फिन्चु लामा र संखुवासभा खाँदबारी नगरपालिका–३ का २९ वर्षीय उत्तम खड्का रहेका छन्।

फिन्चु लामा काठमाडौं महानगरपालिका–६ मा बसोबास गर्दै आएका थिए भने खड्का कागेश्वरी मनोहरा नगरपालिका–८ मा बस्दै आएका थिए।

लामाले लिथुआनिया, रोमानिया लगायतका देशमा पठाइदिने भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ ठगेको र खड्काले सर्बिया पठाउने नाममा १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले लामालाई शुक्रबार काठमाडौं महानगरपालिका–१० बाट र खड्कालाई आइतबार कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया