नेपालका ३१ जिल्लामा कोभिड–१९ पुष्टि


काठमाडौं – नेपालमा कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेको छ। पछिल्ला तथ्यांकअनुसार देशका विभिन्न जिल्लामा संक्रमितको संख्या विस्तारै बढ्दै गएको देखिएको छ।

महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ।

यस अवधिमा कूल २४९ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो एक सातामा मात्र ३५ जना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म एक जनाको मृत्यु पनि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतसहितका सीमावर्ती नाकाहरूमा हेल्थ डेस्कमार्फत आरडीटी परीक्षणलाई थप प्रभावकारी बनाइएको छ।

डा. बुढाथोकीले संक्रमण फैलिन नदिन सावधानी अपनाउन आग्रह गर्दै मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताए।

कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका वा लक्षण देखिएका व्यक्तिहरूले ‘सेल्फ क्वारेन्टाइन’ वा ‘आइसोलेसन’मा बस्न समेत मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया