४५ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तील बहादुर


इलाम- इलाम प्रहरीले ४५ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामको सूचना संकलन तथा विश्लेषण शाखाबाट जारी विज्ञप्तिअनुसार १० वर्ष कैद सजाय पाएका तील बहादुर गुरुङलाई लामो समयपछि पक्राउ गरिएको हो।

इलाम जिल्ला अदालतले २०३८ साल जेठ १२ गते गुरुङलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता फरार रहँदै आएका उनलाई प्रहरीले २०८२ साल असार १७ गते पक्राउ गरेको हो।

७६ वर्षीय गुरुङ इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन्। उनी सोही वडामा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो।

पक्राउ परेपछि उनलाई जिल्ला कारागार इलाममा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव बोगटीले जनाएका छन्।

प्रहरीका अनुसार लामो समयदेखि फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत गुरुङलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया