
अर्घाखाँचीमा दुई युवतीबिच बिहे, पहिलोपटक समलिंगी जोडीको विवाह दर्ता
अर्घाखाँची– अर्घाखाँचीमा पहिलोपटक एक समलिंगी जोडीले आफ्नो विवाह कानुनी रूपमा दर्ता गराएका छन्। भुमिकास्थान नगरपालिका निवासी २३ वर्षीया निशा (नाम परिवर्तन) र कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया अमिता(नाम परिवर्तन) ले गत जेठ १८ गते विवाह गरेपछि सोही विवाह एक वडा कार्यालयमार्फत विधिवत रूपमा दर्ता गरिएको हो।
वडा सचिवका अनुसार समलिंगी जोडीले आवश्यक कागजातसहित विवाह दर्ताका लागि निवेदन दिएपछि सुरुमा केही अन्यौल भए पनि स्थानीय प्रशासनसँग परामर्श गरेपछि विवाह प्रमाणपत्र जारी गरिएको हो। विवाह दर्तामा निशा लाई ‘दुलाहा’ र अमितालाई ‘दुलही’ को रूपमा उल्लेख गरिएको छ।
यी दुई युवती डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूले अन्ततः समाजको असहज दृष्टिकोणलाई चिर्दै आफ्नो सम्बन्धलाई कानुनी मान्यता दिलाउन सफल भएका हुन्।
नेपालमा समलिंगी समुदायप्रति बढ्दो स्वीकार्यतासँगै पछिल्लो केही वर्षयता विवाह दर्ता प्रक्रियामा पनि परिवर्तन आएको छ। यस्ता विवाहहरूका लागि ‘अस्थायी रूपमा छुट्टै रजिस्टर’ राखेर दर्ता गर्न थालिएको छ, जसले यस्ता जोडीहरूको सम्बन्धलाई कानुनी संरक्षण प्रदान गर्छ।
यो घटना नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारका पक्षमा एक सकारात्मक संकेतका रूपमा हेरिएको छ।



कागजपत्र |
