
केन्द्रीय बैठकमा शेखरको तीव्र असन्तुष्टि, भने- ‘सहनशीलतालाई कमजोरी नठानियोस्’
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वशैलीप्रति कडा असन्तुष्टि जनाउँदै अनुशासन, संगठन, गठबन्धन, भ्रातृ संस्था, र आन्तरिक लोकतन्त्रका विषयमा स्पष्ट जवाफ माग गरेका छन्। सोमबारदेखि सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले सशक्त चेतावनी दिंदै भने – “मैले पार्टी एकढिक्का होस् भन्ने चाहेको हो, तर मेरो सहनशीलतालाई कमजोरी नठानियोस्।”
“सहनशीलतालाई कमजोरी नठानियोस्”
कोइरालाले पार्टीभित्र देखिएको असन्तुलन, मनपरी र अलोकतान्त्रिक कार्यशैलीप्रति टिप्पणी गर्दै भने, “मैले कहिल्यै पार्टी विभाजनको सोच गरेको छैन। पार्टी एक ढिक्का होस् भनेर सहमति बनाउँदै हिँडेको छु। म सहमतिमा जान्छु, तर अलोकतान्त्रिक कुरा हुन्छ भने त्यो मान्दिनँ।”
गठबन्धन र संविधान संशोधनमा स्पष्टता माग
पार्टीको गठबन्धन नीति अस्पष्ट रहेको भन्दै कोइरालाले माओवादी केन्द्रसँगको गठबन्धन र पछिल्लो एमालेसँगको सहकार्यबारे गम्भीर प्रश्न उठाए। “चुनावअघि हामी माओवादीसँग गठबन्धनमा गयौँ। त्यसबेला माओवादीलाई वामपन्थीहरू र कांग्रेसबीच सेतुका रूपमा स्वीकार गर्ने भनिएको थियो। संविधान संशोधन गर्न गठबन्धन गरिएको भनियो। अहिले त्यो बुँदा कहाँ पुग्यो?”
उनले थपे, “म भनेको कांग्रेस नेतृत्वमा सरकार बनोस्। अहिलेको सरकार कसरी बन्यो? एमाले नेतृत्वमा किन जानु पर्यो भन्ने जवाफ चाहिन्छ।”
अनुशासन समितिको भेदभावपूर्ण कार्यशैलीप्रति आक्रोश
अनुशासन समिति निष्पक्ष नभएको आरोप लगाउँदै उनले भने, “केन्द्रमै बसी पार्टी नेतृत्वविरुद्ध टिकाटिप्पणी गर्नेहरूलाई अनुशासनको कारबाही हुँदैन। तर, अरू कसैलाई भने तत्काल कारबाही प्रक्रिया अघि बढाइन्छ। एउटै मुद्दामा कुनै नेतालाई सचेत गराइन्छ, अर्कालाई निलम्बन प्रस्ताव गरिन्छ। यो कस्तो अनुशासन?”
भ्रातृ संस्था अलपत्र, अधिवेशन अधुरो
कोइरालाले पार्टीका भ्रातृ संस्था विघटनको अवस्थामा पुगेको बताउँदै नेविसंघ, तरुण दल र महिला संघको अवस्था प्रति चिन्ता व्यक्त गरे। “तरुण दल अहिले अनशनमा छ, नेविसंघ आन्दोलनमा छ, महिला संघको अधिवेशन सम्भव छैन। केन्द्रको कमजोरीले संस्था हरू अस्तव्यस्त छन्,” उनले भने।
लोकतान्त्रिक चरित्रमाथि प्रश्न
उनले नेताहरूबीच छलफल नहुने, केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित हुने, पार्टीमा आन्तरिक लोकतन्त्र नभएको, नीति निर्माण प्रक्रियामा सहभागिता नदिइएको जस्ता मुद्दा उठाए। “हामीले त टिकट वितरणसमेत प्राविधिकको भरमा गर्यौं। जे कुराको निर्णय कार्यसम्पादनले गर्नुपर्ने हो, त्यो पनि प्राविधिककै जिम्मामा गयो।”
पार्टीको भविष्यप्रति चिन्ता
“हामी पार्टीलाई निष्ठावान बनाउँछौं भने प्रष्ट र निष्पक्ष हुनुपर्छ,” कोइरालाले भने, “हिजोका आन्दोलनकारीहरूलाई पन्छ्याउने, आजका ढोका समाउनेलाई उचाल्ने काम भइरहेको छ।”
अन्त्यमा, कोइरालाले स्पष्ट चेतावनी दिंदै भने, “सही कुरा भन्न मुख नलुकाऔँ। अब चुप लाग्ने बेला होइन।”



कागजपत्र |
