मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने सरकारको निर्णय


काठमाडौं– लगातारको वर्षासँगै देशभर सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ। सहरी विकास मन्त्रालयमा बसेको बैठक कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।

देशका विभिन्न भागमा भइरहेको धेरै पानीका कारण उत्पन्न हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै परिषद्ले सतर्कता अपनाउनुपर्ने निर्णय गरेको हो।

कार्यवाहक प्रधानमन्त्री सिंहले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै पूर्वतयारीमा कुनै कमी नगर्न सरोकारवाला निकायलाई निर्देशन दिए। उनले मौसम पूर्वानुमानपछि दिइने पूर्वसूचना प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिए।

बैठकमा सिंहले गृह, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागबाट भइरहेका तयारीबारे जानकारी लिएका थिए।

गृहमन्त्री रमेश लेखकले तीनवटै सुरक्षा निकाय अलर्ट अवस्थामा रहेको जानकारी गराउँदै सेना र निजी क्षेत्रका हेलिकप्टर पनि विपद्मा परिचालन गर्न तयार रहेको बताए। उनले जोखिमयुक्त सडकमा सवारी नचलाउने निर्देशन प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टका प्रहरी इञ्चार्जहरूलाई जिम्मेवार हुने गरि पठाइसकिएको पनि जानकारी दिए।

मुख्य सचिव एकनारायण अर्यालले हालको मौसम पूर्वानुमान सही रहेको भन्दै त्यसअनुसार सम्बन्धित निकायहरूलाई सतर्क अवस्थामा राखिएको बताए।

परिषद्का मुख्य निर्णयहरू:
१. जोखिमयुक्त स्थानहरूमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक
२. भारी वर्षा भइरहेका क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन सूचना प्रवाह
३. स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन र सूचना प्रशारण
४. विपद् प्रभावित क्षेत्रमा तत्काल रिपोर्टिङ र उद्धारको व्यवस्था मिलाउने

प्रतिक्रिया