

टुंगियो नेकपाको पुनरावलोकन मुद्दाः अदालतको आदेशबाट माओवादी केन्द्र असन्तुष्ट

काठमाडौं – सर्वोच्च अदालतले नेकपा खारेजी गर्ने निर्णयविरुद्धको पुनरावलोकन निवेदनलाई निस्सा नदिएपछि नेकपा माओवादी केन्द्र आक्रोशित भएको छ। १७ चैतमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गराएको निवेदनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले पुनरावलोकनमा नलैजाने निर्णय गरेपछि माओवादी केन्द्र रुष्ट भएको हो।
‘सर्वोच्च अदालतले २०७७ फागुन २३ गते हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेशझैँ राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो, उनले भनेका छन्, ‘यो गलत निर्णयप्रति हाम्रो तीव्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ, जागौँ।’
फागुन २३ मा खारेजीमा परेको नेकपालाई ब्यूँताउन मागसहित प्रचण्डले हालेको पुनरावलोकन निवेदनलाई बिहीबार सर्वोच्चले अस्वीकृत गरिसकेको छ। यस पृष्ठभूमिमा नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आक्रोशपूर्ण धारणा सार्वजनिक गरेका हुन्।
अदालतले फैसला पुनरावलोकन गर्न निस्सा प्रदान नगर्ने निर्णयसँगै अब एमाले र माओवादी अलग अलग हिँड्नुपर्ने भएको छ। पुनरवलोकन निवेदनलाई निस्सा नदिएपछि यो मुद्दा यहीँ टुंगिएको छ।

