सर्वोच्चले रास्वपा विवादमा दुवै पक्षलाई छलफलमा बोलायो


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदसम्बन्धी विवादमा सर्वोच्च अदालतले असार १७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। आफूलाई महामन्त्री ठहर गर्दै डा. मुकुल ढकालले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको ढकालका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए।

ढकालले आफू नै वैध महामन्त्री भएको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउने आदेशका लागि परमादेश र उत्प्रेषणसमेत माग गरेका छन्।

रास्वपाले २०८१ भदौ ११ गते डा. ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। त्यसअघि, २०८१ असार २० गते पार्टी अनुशासन उल्लंघन गर्दै अभद्र, अशोभनीय र अनुशासनहीन व्यवहार देखाएको आरोपमा उनलाई महामन्त्री पदबाट निलम्बन गरिएको थियो।

यसबीच, ढकालले असार ४ गते पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेका थिए। जवाफमा निर्वाचन आयोगले ढकाल नै महामन्त्री रहेको पुष्टि गरेको थियो। उक्त रिटमा ढकालले रास्वपा केन्द्रीय कार्यालय, वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, तथा सभापति रवि लामिछानेलगायतलाई विपक्षी बनाएका छन्।

प्रतिक्रिया