

काठमाडौँ-तराई द्रुतमार्ग : सेनाको ठेकेदार छनौट प्रक्रिया विवादमा, लेखा समितिबाटै उठ्यो प्रश्न

काठमाडौँ – नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ-तराई द्रुतमार्गमा पर्ने सुरुङ र पुल निर्माणका लागि नेपाली सेनाको ठेकेदार छनौट प्रक्रिया विवादमा आएको छ । नेपाली सेनाले दुईओटा प्याकेजका लागि इपीसी (इञ्जिनियरिङ्ग, प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन) अन्तर्गत दुई चिनियाँ निर्माण कम्पनीलाई दुवै लटको ठेक्का दिने गरी छनौट गरेको छ ।
नेपाली सेनाले विद्यमान कानुनी प्रावधान मिचेर ठेकेदार कम्पनीहरू छनौट गरेको भन्दै परेको उजुरीमा सुनुवाई गर्ने क्रममा संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनासँग प्रष्ट हुन चाहेको छ । इपीसीमा आधारित ठेक्काको खरिद सम्झौताका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले अहिलेसम्म सम्झौतका स्ट्याण्डर्ड टेम्प्लेट नै तयार नगरिसकेको अवस्थामा अर्को निकायको क्षेत्राधिकार मिचिने गरी सेनाले यस्तो ठेक्का कसरी लगाउँदैछ भनेर प्रश्न गरिएको छ ।
नेपाली सेनाले इपीसी ठेक्काका लागि माग गरेको आवेदनमा पहिलो प्याकेका लागि २१ र दोस्रोका लागि २२ कम्पनीले आवेदन दिएकोमा पूर्व योग्यता निर्धारण नै नगरी सीधै दुईओटा लटकै ठेक्काका लागि दुई चिनियाँ कम्पनीलाई योग्य ठहर्याइ २५ डिसेम्बर, २०२० मा सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
सेनाले दुई लटमा पुल र सुरुङको ठेक्कामा पहिलोका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्प र पोली चङदा इञ्जिनियरिङलाई छानेको छ भने दोस्रो प्याकेजका लागि पोली चङदा इञ्जिनियरिङ छानिएको छ ।

