सुर्खेत प्रदेश अस्पतालमा भ्रष्टाचार : तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा


काठमाडौं- सुर्खेतस्थित प्रदेश अस्पतालमा करिब २५ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको अभियोगमा तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

सामाजिक सेवा एकाइ अन्तर्गत कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाहीमाथि बिमितहरूको नाम दर्ता गर्ने काउन्टरको जिम्मेवारीमा रहँदा अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी राजस्व संकलनको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको आरोप लागेको छ।

अनुसन्धानका क्रममा लेखा अधिकृत शंकर प्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थामार्फत करारमा खटिएकी तृप्ती शाही र कुमारी बैंक एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिजाली मगरले मिलेमतोमा भ्रष्टाचार गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

आयोगका अनुसार, २०८० साउन १ देखि २०८१ साउन मसान्तसम्म अस्पतालमा संकलन भएको कुल राजस्व रकम र३४ लाख ३ हजार ८५६ मध्ये  ८ लाख ३६ हजार ३३० मात्र खातामा दाखिला गरिएको थियो। बाँकी २५ लाख ६७ हजार ५२६ हिनामिना गरिएको देखिएको हो।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले अभियुक्तहरूविरुद्ध सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया