अमेरिकाको क्यालिफोर्निया भएको गोलीकाण्डमा चार जनाको मृत्यु


लस एन्जलस – संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो । घटनास्थलमा अपराह्न ५।३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताए । त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिए ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताए ।

अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिए। त्यसबखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरी सहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।

गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थिए भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो ।

प्रतिक्रिया