विद्यार्थीलाई राहत : अब ट्रान्सक्रिप्टदेखि प्रमाणपत्रसम्म अनलाइनमै


काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई लक्षित गर्दै असार १५ गतेदेखि १० वटा सेवा पूर्ण रूपमा अनलाइनमार्फत प्रदान गर्ने भएको छ। विद्यार्थीको सेवामा सहजता र प्रभावकारिता ल्याउने उद्देश्यले डिजिटल प्रणाली लागू गरिएको हो।

परीक्षा नियन्त्रण कार्यालय (पनिका) अनुसार अब त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण, तथा प्रमाणपत्रका प्रतिलिपि सम्बन्धी आवेदन फारामहरू अनलाइनमार्फत नै भर्न सकिने छन्।

पनिकाले विकास गरेको ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेकाले विद्यार्थीले त्रिविको वेबसाइटमार्फत लगइन गरी यी सेवा सजिलै लिन सक्ने व्यवस्था गरिएको छ। पनिकाका अनुसार देशभर वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीले सेवा लिने भएकाले अनलाइन प्रणालीमार्फत प्रक्रिया छरितो र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जारी गरेको विज्ञप्तिमा सीमित स्रोत र प्राविधिक चुनौतीबीच पनि सेवा विद्युतीकरण गरेर डिजिटल पहुँचलाई थप सुदृढ बनाइएको उल्लेख गरिएको छ।

त्रिविले २०७५ सालदेखि अनलाइन दीक्षान्त फाराम र ट्रान्सक्रिप्ट सेवा सञ्चालनमा ल्याएको थियो। २०७९ माघ १५ गतेबाट अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि केही प्राविधिक कारणले सेवा केही समय स्थगित भएको थियो। २०८२ वैशाख २ गतेदेखि अनलाइन ट्रान्सक्रिप्ट आवेदन फाराम परीक्षणका रूपमा सुचारु गरिएकोमा अब असार १५ गतेदेखि सबै १० सेवा औपचारिक रूपमा सञ्चालनमा आउने त्रिविले जनाएको छ।

 

प्रतिक्रिया