
निलो रिबन लगाएर विरोध गर्ने रास्वपा सांसदलाई निष्कासन गर्न कांग्रेसको माग
काठमाडौं- नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणको विरोधमा निलो रिबन बाँधेर नाराबाजी गर्ने रास्वपा सांसदहरूलाई संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाउँदै निष्कासनको माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मर्यादित पोसाकसम्बन्धी नियम उल्लेख गर्दै सांसदहरूले लगाएको निलो रिबनको औचित्यमाथि प्रश्न उठाए। उनले सभामुख समक्ष आग्रह गर्दै भने, “संसदीय मर्यादा विपरीत हुने व्यवहार गर्नेलाई चेतावनी दिइ आवश्यक परे निष्कासन गर्नुपर्छ।”
उनको भनाइपछि रास्वपाका सांसदहरूले कांग्रेसको आलोचना गर्दै प्रतिवाद जारी राखे। “हामी कुर्सी तोड्न वा माइक भाँच्न आएका होइनौँ, लोकतान्त्रिक तरिकाले विरोध गर्दैछौँ,” उनीहरूले प्रतिक्रिया दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपको उच्चस्तरीय छानबिन र राजीनामाको माग गर्दै जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
मंगलबार पनि निलो रिबन बाँधी नाराबाजी भइरहेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।



कागजपत्र |
