दूरसञ्चार सम्बन्धि सबै गुनासो तत्काल सम्बोधन हुन्छ : मन्त्री गुरुङ
काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह समेत गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौँमा शुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धि अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले टेलिफोन, इन्टरनेटलगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने बताए ।
‘इन्टरनेट, टेलिफोनलगायतका सेवामा सबैको पहुँच पुर्याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिवद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘ स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।’
मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सेवा पुर्याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको छ ।