


भिजिट भिसा प्रकरण: तीन ठूला दलबीच दुई बुँदे सहमति, प्रतिनिधिसभा बैठकको अवरोध हट्ने

काठमाडौं— भिजिट भिसा र अध्यागमन प्रकरणको छानबिनका विषयलाई लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक सुचारु गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच दुई बुँदे सहमति भएको छ।
शुक्रबार बसेको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) भने सहमतिमा सामेल छैन।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणका कारण अवरुद्ध हुँदै आएको बैठक अब सुचारु हुने पक्कापक्की भएको छ। विपक्षीहरूले गृहमन्त्री रमेश लेखकमाथि समेत छानबिन गर्नुपर्ने माग गर्दै संसद् अबरुद्ध गर्दै आएका थिए।
यस्तो छ सहमतिको मुख्य बुँदा:
१. भिजिट भिसा तथा अध्यागमनसम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघि बढाएको अनुसन्धान कार्यलाई निष्कर्षमा पुर्याइनेछ। आयोगले छानबिनका क्रममा आवश्यक परेमा सरकारले सबै सहयोग उपलब्ध गराउनेछ।
२. विगतदेखि देखिँदै आएको अध्यागमन र भिजिट भिसासम्बन्धी समस्या समाधान गर्न सरकारले गम्भीर अध्ययन, छानबिन तथा सुधार प्रक्रिया अघि बढाउनेछ। नीति, कानुन र संरचना स्तरमै सुधारका लागि ठोस पहल गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
सहमतिको आधारमा अब अवरोध हट्ने भए पनि रास्वपाले सहमतिमा हस्ताक्षर नगरेकोले उनीहरू अझै असन्तुष्ट रहने संकेत देखिएको छ। सदनमा अब रास्वपा एक्लिएको छ।

