
विदेश पठाउने प्रलोभन देखाएर ६० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
काठमाडौं- आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा वैदेशिक रोजगारी पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ बस्ने, रौतहट परोहा नगरपालिका–८ का ३५ वर्षीय हरिकृष्ण ठाकुर, ललितपुर महानगरपालिका–५ बस्ने, नवलपरासी पूर्व कावासोती नगरपालिका–१ की ४१ वर्षीया रिना गुरौ र काठमाडौँ नागार्जुन नगरपालिका–१५ बस्ने, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का ५५ वर्षीय कविराज सिपखान रहेका छन्।
ठाकुरले एक जना पीडितलाई कतार पठाइदिने भन्दै १ लाख रुपैयाँ ठगी गरेका थिए भने रिनाले पोर्चुगल र कुवेत पठाइदिने भन्दै तीन जनाबाट १८ लाख ५५ हजार रुपैयाँ लिएकी थिइन्। यस्तै, कविराजले युके पठाइदिने भन्दै एक जना पीडितसँग ४१ लाख १४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा ठाकुरलाई काठमाडौँ महानगरपालिका–२२, गुरौलाई ललितपुर महानगरपालिका–५ र सिपखानलाई काठमाडौँ महानगरपालिका–२८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको छ।



कागजपत्र |
