


माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्।
बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् तर, सत्तापक्ष तयार भएको छैन।
यही विषयका कारण यही जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ। जेठ १५ गते बजेट ल्याउन दिए पनि त्यसयता विपक्षी दलले प्रतिनिधि सभामा बजेटमाथिको छलफल हुन दिएका छैनन्।
आइतबार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।

