

देशका विभिन्न स्थानमा वर्षा, प्रदुषण घट्ने अनुमान

काठमाडौं– बुधबार बेलुकी लामो समयको खडेरीपछि काठमाडौंमा वर्षा भएको छ। पछिल्लो सातायता काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषण उच्च विन्दुमा पुगेको छ।
देशभर लागेको डढेलो र भारतबाट उडेर आएको धुलोको कारण उपत्यकासहित देशका अधिकांश शहरमा तुवाँलोले गर्दा आँखा दुख्ने, श्वासप्रश्वासमा समस्या थियो। पानी नर्पदा तुवाँलो हट्न सकेको थिएन।
तर, काठमाडौं उपत्यकालगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएपछि तुवाँलो हट्ने र आकाश खुला हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार देशको केही क्षेत्रमा पानी पर्ने सक्ने जनाएको थियो।
पछिल्लो एक सातादेखि नै विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा रहँदै आएको थियो। वल्ड एयर क्वालिटी रिपोर्टमा बुधबार साँझसम्म काठमाडौं प्रदूषित सहरको पहिलो नम्बरमा थियो।
वर्षापछि वायु प्रदूषणमाकेही सुधार हुने मौसम विज्ञान विभागको दावी छ। वनमा लागेको डढेलो कायम रहे पर्सीबाट फेरि प्रदूषण अहिलेकै अवस्थामा फर्कने सक्छ। यद्यपि ठूलै पानी परे डढेलो नियन्त्रणमा आउन सक्छ।

