भिजिट भिसा दुरुपयोगपछि अमेरिकी दूतावासको कडाइ, बिना सुरक्षा जाँच भिसा नपाइने


काठमाडौं- अमेरिकाले नेपाली नागरिकहरूलाई भिसा दिन कडाइ गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सूचना जारी गर्दै अब बिना पूर्ण सुरक्षा जाँच भिसा दिन नसकिने स्पष्ट पारेको छ।

दूतावासले उल्लेख गरेअनुसार, अब प्रत्येक आवेदनकर्ता कडा सुरक्षा जाँच प्रक्रियाबाट गुज्रनुपर्नेछ। सो प्रक्रियामा अमेरिकी कानुन कार्यान्वयन निकायका रेकर्ड र आतंकवादविरोधी डाटाबेसमार्फत नाम तथा पृष्ठभूमिको परीक्षण अनिवार्य हुनेछ।

‘सुरक्षा जाँच पूर्ण नभएसम्म तपाईंको भिसा जारी हुने छैन,’ दूतावासको सूचनामा भनिएको छ।

अमेरिकी सरकारको प्राथमिकता आफ्ना नागरिकहरूको सुरक्षा रहेको भन्दै दूतावासले सम्भावित खतरा उत्पन्न गराउन सक्ने व्यक्तिहरूमाथि अमेरिका यात्रा प्रतिबन्धित गरिने जनाएको छ।

यो निर्णय पछिल्लो समय नेपालमा देखिएको भिसा दुरुपयोगका गतिविधिसँग जोडिएको अनुमान गरिएको छ। सरकारी कर्मचारीकै संलग्नतामा पैसा लिएर नेपाली नागरिकलाई भिजिट भिसामा अमेरिका पठाइएको घटनाले अन्तर्राष्ट्रिय चिन्ता बढाएको पृष्ठभूमिमा अमेरिकाले कडाइको नीति अवलम्बन गरेको देखिएको छ।

प्रतिक्रिया