


सार्वजनिक यातायात बन्दमा कांग्रेसको चासो, समन्वय विभागले माग्यो वार्तामार्फत समाधान

काठमाडौं – सात बुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी र मजदुर संगठनहरूले आह्वान गरेको देशव्यापी यातायात बन्दप्रति नेपाली कांग्रेसको सार्वजनिक यातायात तथा यातायात व्यवसायी समन्वय विभागले गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेस सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागका विभागीय प्रमुख शिव प्रसाद हुमगाईद्वारा सोमबार जारी विज्ञप्तिमा आन्दोलनरत पक्ष र नेपाल सरकारबीच वार्ताबाट समस्या समाधान गर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “व्यवसायीहरूको लगानीको संरक्षण र मजदुरहरूको व्यावसायिक हक–हित तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले जिम्मेवारी लिनुपर्छ भन्ने कांग्रेसको स्पष्ट धारणा छ।”
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ मार्फत आन्दोलनरत पक्षहरूसँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा यात्रुहरूको कठिनाइ, राष्ट्रिय परिस्थिति र सार्वजनिक सेवा अवरुद्ध हुन नदिन वार्तामार्फत तत्काल समाधान खोज्न आग्रह गरिएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, स्वतन्त्र मजदुर संगठनहरू लगायत संघ–संगठनहरूले सार्वजनिक यातायात बन्दको आह्वान गरेका थिए। गण्डकी प्रदेशबाट सुरु भएको आन्दोलन हाल देशभर फैलिएको छ।
विभागीय प्रमुख हुमगाईले यात्रु, व्यवसायी र मजदुर सबैको हक र हित सुनिश्चित हुने गरी साझा समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

